प्रेस विज्ञप्ति
लोकतान्त्रिक प्रक्रियाबाट प्राप्त जनमतलाई सम्मान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको ब्यापक मतलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण फड्कोको रूपमा लिएका छौं। लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल रास्वपालाई हार्दिक बधाई ज्ञापन सहित सरकार स्थिर र पूर्ण कार्यकालसम्म सञ्चालन होस् तथा जनअपेक्षा अनुसार सफल कार्यसम्पादन गर्न सफल रहोस हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
नेपालमा करिब १०० अन्तराष्ट्रिय र ४६,००० भन्दा बढी राष्ट्रिय गैर सरकारी नागरिक संघ संस्थाहरु क्रियाशील छन् । समाज कल्याण परिषदको अभिलेख अनुसार अन्तराष्ट्रिय र राष्ट्रिय गैर सरकारी नागरिक संघ संस्थाहरुले बार्षिक ५०–७० अर्ब रुपैयाँसम्म विकास कार्यक्रमहरूमा खर्च गरिरहेका छन् र यो नेपालको लागि पूर्ण रुपमा अनुदान सहयोग हो र यो ऋण होईन ।
मुलतः यो अन्य मुलुकहरुका उदारमना मानीसहरुको नेपाली नागरिक प्रतिको भाइचारा पनि हो । सरकारको प्रत्यक्ष सम्पर्क नभएका मुलुकहरुमा समेत गैर सरकारि सँस्थाहरु मार्फत मुलुक प्रतिनिधित्व हुने अवसर समेत गैरसरकारि सँस्थाहरु मार्फत जुटेको छ । यस क्षेत्रमा ३५ हजारभन्दा बढी नेपालीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारीमा जोडिएका छन् । यी संस्थाहरूले स्वास्थ्य, शिक्षा, महिला सशक्तिकरण, बालअधिकार, वातावरण संरक्षण, कृषि तथा स्थानीय विकास जस्ता क्षेत्रमा महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।
गैरसरकारी\नागरिक संघ संस्था लोकतन्त्रको पहरेदारको हो । साथै यसले प्रत्येक सुख–दुःखमा समाजसँगै उभिने परम्परा कायम राखेको छ । नागरिक समाजको प्रवर्द्धन र विकासले देशभित्रको लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ बनाउने मात्र होइन, अन्तर्राष्ट्रिय समुदायले पनि कुनै देशको लोकतान्त्रिक अभ्यासको स्तर मापन गर्ने महत्वपूर्ण आधारको रूपमा यसलाई लिन्छ।
देश विकासमा एक मेरुदण्डको रूपमा उभिएको यस क्षेत्रप्रति यदाकदा देखिने नकारात्मक धारणा तथा आशंकाप्रति राज्य र हामी स्वयं पनि सचेत र सजग हुन आवश्यक छ। गैरसरकारी\नागरिक संघ–संस्थाहरू सुशासन, पारदर्शिता र उत्तरदायित्वप्रति प्रतिबद्ध हुनैपर्छ। साथै सरकारी र गैरसरकारी\नागरिक संस्थाहरूले एकअर्काका परिपूरक साझेदारका रूपमा सहकार्य गर्दै अघि बढ्नु आजको नेपालको विकास यात्राको लागि अत्यन्त महत्वपूर्ण छ।
यस परिप्रेक्ष्यमा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल प्रजातान्त्रिक मूल्य–मान्यता तथा मानवअधिकारको प्रवर्द्धनका लागि बन्ने नयाँ सरकारसँग काँधमा काँध मिलाएर काम गर्न र आवश्यक सहयोग प्रदान गर्न सधैं तत्पर रहेको जानकारी गराउन चाहन्छ। यस महासंघसँग देशभर छरिएका ४,००० भन्दा बढी गैरसरकारी\नागरिकसंघ
संस्थाहरु आवद्ध रहेका छन् । यसले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारसँग सहकार्य गर्दै विगतमा पनि काम गर्दै आएका थिए र आगामी दिनमा पनि सहकार्य गर्न पूर्ण रूपमा तयार छन्।
हामी सरकारसँग गैरसरकारी\नागरिक संघ संस्थाहरूलाई सामाजिक विकासको साझेदारका रूपमा स्वीकार गर्दै स्वास्थ्य, शिक्षा, महिला सशक्तिकरण, बालअधिकार, वातावरण संरक्षण, कृषि तथा स्थानीय विकासका कार्यक्रमहरूमा अनिवार्य सहभागिता सुनिश्चित गरी तीनै तहका सरकारले विकासको स्पष्ट रोडम्याप निर्माण गर्न आग्रह गर्दछौं।
साथै हामी सरकारी तथा गैरसरकारी दुवै क्षेत्रमा देखिन सक्ने कुशासन, भ्रष्टाचार र अनियमितताहरूको विरुद्ध सशक्त आवाज उठाउँदै सकारात्मक सजगताका लागि पहरेदारको भूमिकामा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछौं।
संविधानले परिकल्पाना गरेको जस्तै राज्यले गैरसरकारी\नागरिक संघ संस्थाहरुलाई आफ्नो साझेदारको रुप सामवेस, संरक्षण र सम्वर्धन गर्दै देस निर्माणको साझेदारको रुपमा अधि बढाउनेछ भन्ने कुरामा हामी विस्वस्त छौ ।
नयाँ सरकारद्वारा देशमा सुशासन स्थापना गर्ने उद्देश्यले १०० बुँदे सुधार कार्यक्रम सार्वजनिक भएकोमा हामी स्वागत गर्दछौँ। तर देशको विकासमा लामो समयदेखि हातेमालो गर्दै आएका गैरसरकारी\नागरिक संघ संस्था क्षेत्रको सुशासन र सुधारको विषय भने यस कार्यक्रमभित्र कतै पनि प्रत्यक्ष रूपमा समेटिएको देखिँदैन।
लोकतान्त्रिक शासन व्यवस्था स्थापना भइसकेको यति लामो समय बितिसक्दा पनि यो क्षेत्र अझैसम्म पञ्चायतकालीन ऐन–नियमकै आधारमा सञ्चालन हुनु पर्ने अवस्था रहेको छ, जुन समयानुकूल छैन। त्यसैले अन्तराष्ट्रिय र राष्ट्रिय गैर सरकारी नागरिक संघ संस्था क्षेत्रलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले नयाँ ऐन निर्माणका लागि १०० दिनभित्र कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाउन हामी हार्दिक अनुरोध गर्दछौँ।
जय नेपाल !
महासाचिब अध्यक्ष
मनोज कुमार कंडेल डिल्ली राम गिरी
लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल
कार्यालय: भृकुटीमण्डप, काठमाडौं
२०८२ चैत्र १६